प्रकाशित भयो एसईईको परीक्षाफल
काठमाडौं, भदौ १ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको छ।
सोमबार अपरान्ह बसेको बोर्डको बैठकले एसईईको परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेले जानकारी दिए।
खकुरेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ७२ हजार ७८ जना विद्यार्थीको परीक्षाफल सार्वजनिक गरिएको छ।
गत चैत ६ गतेदेखि सञ्चालन हुने गरी तय भएको एसईई परीक्षा कोरोना भाइरसको महामारी फैलिएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। कोरोना महामारीकै कारण परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो।
परीक्षाको मूल्यांकन गरेर विद्यालयहरूले जिल्ला समन्वय इकाईमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए।
शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।
चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आयो। केही अयोग्य भए ।