काठमाडौं उपत्यकामा मंगलबार थपिए २०५ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २ :  काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २०५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंमा १३८ जना, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ११४  जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन्। -काठमाडौँ