भारत र चीनबीच पूर्वी लद्दाखमा फेरि झडप

काठमाडौं, भदौ १५ : भारत र चीनबीच पूर्वी लद्दाखमा पुनः झडप भएको छ। केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिकबीच लद्दाखमा झडप भएको हो।  

भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको आरोप लगाएको छ। 

‘अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ,’ भारतीय सेनाका कर्नेल आमन आनन्दले विज्ञप्ती निकाल्दै भनेका छन्। 

गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको  झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीन र भारत दुवैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद  समाधानका लागि वार्ता गरिरहेका छन्। साथै दुवै देशले विवादित क्षेत्रमा सैन्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन्।

यही बीचमा शनिबार र आइतबार रातिका झडप भएको हो। गत साता भारतीय विदेश मन्त्री एस जयंकरले चीनसँग एलएसी माथिको तनाव सन् १९६२ पछिकै गम्भीर भएको बताएका थिए। एजेन्सी