बहराइनका राजकुमारलाई हिमाल आरोहणको अनुमति

काठमाडौं, १६ भदौ : नेपाल सरकारले बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई हिमाल आरोहणको अनुमति दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बहराइनका राजकुमार खलिफासहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिने निर्णय गरेको हो। सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन बेलायती नागरिकसहितको टोलीलाई नेपाल आउन अनुमति दिइएको हो।

उक्त टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदन्ड पालना गर्नेगरी नियमानुसार नेपालको मनास्लु र लोबुचे हिमाल आरोहण गर्नका लागि ‘चार्टर’ उडानबाट नेपाल आउन दिने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

अब विदेशबाट दैनिक ८०० जनासम्म नेपाली नेपाल आउन दिने समेत बैठकले निर्णय गरेको छ। यस्तै अन्तरजिल्ला र लामो दूरीका यातायातका साधनहरु आगामी असोज १ गतेदेखि मात्र सञ्चालन गर्न दिइने निर्णय गरिएको छ।