चितवनमा कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

चितवन, १७ भाद्र : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ।

देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको छ। क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने तथा अवस्था भयावह हुनसक्ने बताए। कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए।

क्यान्सरका बिरामीलाई कोरोना सङ्क्रमितसँग उपचार गर्दा मृत्युदर २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा रहेको उनको भनाइ छ। क्यान्सर उपचारपूर्व कोरोना परीक्षण अनिवार्य गरिएको उनले बताए। कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै क्यान्सरको उपचार गरिने गौतमले बताए।

अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ। अस्पतालले पिसीआर परीक्षण ल्याब केही दिनमा सञ्चालन गर्ने जनाएको छ। क्यान्सर अस्पतालका ४२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यहाँ विगतमा मासिक ७०० देखि ८०० बिरामी उपचार गराउन आउने गरेकामा हाल त्यसको एक चौथाइ बिरामी मात्र उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ। रासस