‘कोरोनालाई जित्ने होइन, यसबाट बच्ने हो, म बालबाल बाँचेर फर्किएँ’

अहिले धेरैलाई जोश चढेको छ। उद्योगधन्दा खोल्नुपर्छ भनेर भनिरहनु भएको छ। तर, अबको ३० दिन केही पनि गर्न हुँदैन। काठमाडौंमा मेयरसहितका मानिस संक्रमित भइसके। हामीले किन बुझ्न नसकेको हो कुन्नी ! यो निकै निर्मम रोग हो। काठमाडौंभित्रको मुभेमेन्ट शतप्रतिशत रोक्नुपर्छ।

-राजेन्द्रबहादुर सिंह

-राजेन्द्रबहादुर सिंह :

कोरोना संक्रमणबाट बचेर भर्खरै डिस्चार्ज भएको छु। मलाई संक्रमण कसरी भयो, त्यो पत्ता लगाउन सकेको छैन। किनकि  मेरो ट्राभल हिष्ट्री थिएन। केही महिना यता मेरो २०/२२ जना मान्छेभन्दा बढीसँग भेट पनि भएको थिएन। तर, मलाई संक्रमण भयो।

हामी कहाँ अहिले सबैभन्दा ठूलो भ्रम कोरोनालाई जित्ने भन्ने छ। तर, सत्य यो होइन। कोरोनालाई जित्ने होइन, यसबाट बच्ने हो। धेरैलाई लागेको छ, कोरोनालाई सहजै जितिन्छ। तर, यस्तो होइन। म अहिले कोरोनालाई जितेर घर फर्किएको होइन, बाँचेर फर्किएको हुँ। विश्वमा सात अर्ब जनसंख्या छ। तीमध्ये २ करोड ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। सबैका आ–आफ्नै अनुभव होलान्। सबैको अनुभव एकै खालको हुँदैन।

तर, मेरो अनुभवले के भन्छ भने यो सामान्य संक्रमण हुँदै होइन। पहिलेदेखि नै यसलाई जसरी सामान्य रुपमा लिइएको छ, यथार्थमा यो निकै गम्भीर संक्रमण हो। सबैलाई लक्षण नदेखिन सक्छ, सबै खालका लक्षण पनि नदिन सक्छ। मलाई पाँच दिनसम्म लगातार १०२ डिग्री ज्वरो आयो।  छैटौं दिनमा रिपोर्ट पोजेटिभ आयो। आठौं दिनमा म ललितपुरको स्टार अस्पतालमा भर्ना भएँ। मेरो अवस्था क्रिटिकल थियो। मेरो उपचार आईसीयूमा भएको हो। मैले सही समयमा उपचार नपाएको भए गाह्रो हुने रहेछ। 

मेरो एक साता लामो अस्पताल बसाइमा उपचारमा कमी भएन। स्टार अस्पतालमा विश्वस्तरीय सेवा पाइने रहेछ। अझ खुसीको कुरा त के भने २०–२२ वर्षका नर्सिङ स्टाफले खटेर काम गरेका छन्। उनीहरुले १२ घण्टा बिरामीको सेवा गरिरहेका छन्। त्योभन्दा ठूलो धर्म र योगदान अरु के हुन सक्छ?

१२ घण्टाको ड्युटीमा एक पटक खाना खान पीपीई खोल्न पर्दा एक घण्टा लाग्दो रहेछ। उनीहरुले ठूलो झन्झट व्यहोरेर हाम्रो सेवा गरेका छन्।

मेरो शरीरमा अक्सिजनको मात्रा कमी भएको थियो। अवस्था क्रिटिकल भएपछि रेम्डेसिभिर औषधि चलाइयो। ५ डोज रेम्डेसिभिर चलाएपछि मेरो रिपोर्ट नेगेटिभ आयो। अहिले पनि मेरो छातीमा संक्रमण छ। घरमा आराम गरिरहेको छु। पूर्णरुपमा ठीक हुन मलाई अझैं तीन–चार महिना लाग्न सक्छ। १०२ डिग्रीको ज्वरो लामो समयसम्म थेग्नु निकै कष्टकर हुन्छ। औषधि छैन। यस्तो अवस्थामा जोगिनुको अर्को विकल्प छैन।

यदि कोही होम आइसोलेसनमा बस्नु भएको छ भने बेसार पानी, हर्रो र बर्रोको पछि नलाग्नुस्। मनतातो पानी खानुस्, बाफ लिनुस्। शरीरमा अक्सिनजनको मात्रा ९४ भन्दा तल झर्न नदिनुस्। पल्सलाई १०० भन्दा माथि जान नदिनुस्। यदि अक्सिजनको मात्रा ९० मा झर्‍यो भने तुरुन्तै अस्पताल गइहाल्नुस्।

अहिले स्टार लगायतका अस्पतालले अनलाइनमा बिरामीलाई अब्जरभेसन गर्ने सुविधा ल्याएका रहेछन्। डाक्टरले दिनमा दुई पटक फोन गर्ने रहेछन्। यो सुविधा सबैले लिँदा राम्रो हुन्छ।

अहिले धेरैलाई जोश चढेको छ। उद्योगधन्दा खोल्नुपर्छ भनेर भनिरहनु भएको छ। तर, अबको ३० दिन केही पनि गर्न हुँदैन। काठमाडौंमा मेयरसहितका मानिस संक्रमित भइसके। हामीले किन बुझ्न नसकेको हो कुन्नी ! यो निकै निर्मम रोग हो। काठमाडौंभित्रको मुभेमेन्ट शतप्रतिशत रोक्नुपर्छ।

बेसार पानी, हर्रो–बर्रो कोरोना लाग्नुअघि इम्युनिटी बुष्ट गर्नका लागि ठीकै होला। तर, लागि सकेपछि यसको कुनै अर्थ छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले नै बेसार पानीको कुरा निकालेर मानिसहरुलाई हेलचेक्राइँ गर्न उकास्नु भयो। वास्तवमा कोरोना लागिसकेपछि यसको कुनै अर्थ छैन।

अहिले अलिकति प्रभावकारी औषधि भनेको रेम्डेसिभिर रहेछ। त्यो पनि राइट टाइममा परेन भने प्रभावकारी नहुने रहेछ। अक्सिजनको मात्रा धेरै घटेपछि यसले असर गर्दैन। मलाई ज्वरो बाहेकका अन्य कुनै लक्षण थिएनन्। स्वाद, गन्धमा कुनै फरक थिएन। जिउ दुख्ने र पखला लाग्ने केही पनि भएको थिएन। सास फुल्ने पनि भएको थिएन। त्यसैले आइसोलेसनमा बसेका कोहीले मलाई एकभन्दा अर्को लक्षण छैन, यो केही पनि होइन भनेर हेलचेक्राइँ गर्न हुँदैन। अक्सिजनको मात्रा ९० भन्दा तल झ¥यो भने अस्पताल गइहाल्नु पर्छ।

आइसोलेसनमा बस्दा सिटामोल दिनमा आठ चक्की भन्दा खानु नहुनेरैछ। पोजेटिभ हुने वित्तिकै कुनै अस्पतालको डाक्टरको सम्पर्कमा बस्ने र उसलाई आफ्नो सबै रिपोर्ट भन्नुपर्छ। जतिसक्दो धेरै आराम गर्नुपर्छ। तनाव लिन नहुने रहेछ। कुनै कुराको तनाव लिए ज्वरो तलमाथि हुने रहेछ। अहिले विश्वको डाटासँग तुलना गरेर मृत्युदर कम छ भनिएको छ। यसले समेत मानिसलाई हेलचेक्राइँ गर्न सघाएको छ।

मलाई डेढ महिनाअघि मात्रै संक्रमण भएको भए बाच्दिनँ थिएँ, सायद। त्यो बेला रेम्डेसिभिर पनि नेपालमा उपलब्ध थिएन। अहिले निजी अस्पताल भर्सेज सरकारी भन्ने छ। तर, त्यस्तो होइन रहेछ। एक साता आईसीयूमा बसेर उपचार गराउँदा पाँच डोज रेम्डेसिभिर प्रयोग गर्दा ५०/६० हजारमा उपचार हुने रहेछ।

अस्पतालमा बस्दा डा. नविन पोखरेल, डा.साहिल रुपाखेती, डा. नविन हिराचन, डा. रविन्द्र कार्की र डा. फिलिप्सले गर्नुभएको उपचारप्रति मनैदेखि आभारी छु। नेपालमा सरुवा रोगका विशेषज्ञ धेरै छैनन्। यति हुँदाहुँदै मेरो उपचार गर्नु हुने डाक्टरको टिमको अध्ययन गज्जब लाग्यो। अहिले जतिपनि स्वास्थ्यकर्मीहरु सेवामा खटिनुभएको छ। उहाँहरु वास्तवमा भन्ने हो भने भगवान नै हो। तीन सेट पीपीई लगाएर, १२ घण्टा बिरामीको सेवा गर्नु भनेको चानचुने कुरा होइन। देशमा अहिले कोही हिरो छ भने स्वास्थ्यकर्मी नै हुन्। त्यसैले अहिले सबैले स्वास्थ्यकर्मीको हौसला बढाउन आवश्यक छ।

मेरो अनुभवमा कोरोनाविरुद्धको यो अभियानमा राज्यको उपस्थिति पनि राम्रै रहेछ। रिपोर्ट पोजेटिभ आउने वित्तिकै फोन आउने रहेछ। गाह्रो, साह्रो परेमा सम्पर्क गर्न नम्बर दिने रहेछन्। म निजी सेवा लिन सक्ने क्षमता भएको मान्छे हुँ। सोही कारण स्टार अस्पतालमा उपचार गराएँ। ताकी क्षमता नहुने सरकारको सुविधा उपभोग गर्न पाउन भनेर हो। सोही कारण मैले राज्यको सेवा लिइनँ। अहिले अन्तर्राष्ट्रिय तथ्यांक र उदाहरण दिएर निषेधाज्ञा खोल्नु पर्ने भनेर हल्ला भइरहेको छ। यो एकदमै गलत कुरा हो। मेरो पनि व्यवसाय छ। हेलिकप्टर र एयरलाइन्स कम्पनी छ। घाटा मलाई पनि भएको छ। कुन चाहिँ देशमा लकडाउन गरिएको छ भनेर सामाजिक सञ्जालमा माइलेजका लागि सोच्दै नसोची कसैले बोल्न हुँदैन।

काठमाडौंमा कोरोना समुदायस्तरमा फैलिएको छ। यसको अर्थ भनेको कोरोना तपार्इं हाम्रो घर बाहिर घुमिरहेको छ। त्यसैले एक महिना पैसा नकमाउँदा मरिँदैन, खोले खाँदा मरिँदैन।

काठमाडौंमा दैनिक पाँच सय जनामा संक्रमण पुष्टि हुँदा पनि मानिसलाई डर महसुस भएको छैन। मेरो विचारमा अबको एक महिना मानिसहरु घरबाहिर निस्कन हुँदैन। एक महिना खोले खाएर बस्दा मरिन्नँ। यदि खुला छोड्ने हो भने हरेकलाई संक्रमण हुने खतरा मैले देखेको छु। संक्रमण भएपछि भविष्यमा के हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। अहिले जसरी मृत्युदर बढिरहेको छ। यो निकै गम्भीर विषय हो।

कोरोना लागि सकेपछि भविष्यमा कस्तो स्वास्थ्य समस्या हुन्छ, कसैलाई थाहा छैन। सरकारले नै यति मानिसले कोरोना जितेर भनेर भन्छ। यसले अझ मानिसहरुलाई हेलचेक्राइँ गर्न बल पु¥याएको छ। यसबाट बच्ने भनेको सामाजिक दूरी कायम गर्ने, एक घण्टाको फरकमा साबनुपानीले हात धुने र मास्कको प्रयोग गर्ने नै हो। सकिन्छ भने परिवारसँग पनि सामाजिक दूरी  कायम गर्ने बानी बसाल्दा कसैमा संक्रमण रहेछ भने अरुमा नसर्न सक्छ।

(तीन हप्ताअघि कोरोना संक्रमित भएका सिता एयर प्रा.लि.का प्रवन्ध निर्देशक सिंह गत बिहीबारमात्रै निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्।)