वामदेव राष्ट्रिय सभामा

काठमाडौं, १८ भदौ : उपाध्यक्ष वामदेव गौतमलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

बिहिवार बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। “उपाध्यक्ष गौतमलाई राष्ट्रपतिबाट मनोनीतका लागि सरकारका तर्फबाट सिफारिस गरिने छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने।

राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गर्ने वा उपाध्यक्ष गौतमलाई भन्ने मतभेद रहेको थियो। सचिवालयका बहुमत सदस्यले पार्टीको निर्णय कार्यान्वयन गर्न ओलीलाई दबाब दिएपछि गौतमलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णयमा ओली पुगेका हुन्।

गत फागुन १४ गते बसेको नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, ६ महिनासम्म पनि उनको मनोनयनको सिफारिस सरकारबाट हुन सकेको थिएन। बैठकमा कार्यदलको प्रतिवेदन’bout प्रारम्भिक छलफल समेत भएको छ। सचिवालयले पार्टीको विवाद समाधानका लागि कार्यदलले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता प्रकट गरेको छ।  

कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाएर अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्नो भूमिका निर्वाह गर्ने प्रवक्ता श्रेष्ठले बताए। कार्यदलको सुझाका आधारमा सचिवालयले प्रस्ताव तयार गर्दै छिट्टै स्थायी कमिटी बैठकमा छलफल गरिने  प्रवक्ता श्रेष्ठको भनाइ छ।

“विगतका कार्यसूची र सचिवालयको नयाँ प्रस्तावका सवालमा छलफल गर्न अब छिट्टै नै स्थायी कमिटी बैठकको आह्वान हुनेछ,’ श्रेष्ठले भने। कोरोना संक्रमणको अवस्थाका कारण स्थायी कमिटी बैठक केही धकेलिन सक्ने उनको भनाइ छ। संक्रमणको दरको अवस्थाको मूल्यांकनपछि दुई अध्यक्षको परामर्शमा बैठकको मिति तोकिने उनको भनाइ छ।