हाइकु २०२० मा स्रष्टा कायस्थ

पछिल्लो समय हाइकुमा पनि धेरैले कलम चलाएका छन् । साहित्यको कुनै पनि विधामा कलम चलाउनेहरुको संख्या बढ्नु निश्चय पनि सुखद विषय हो । यसले स्रष्टाहरुलाई प्रतिस्पर्धाका साथै चुनौतीको बोध गराउनुका अतिरिक्त लेखनमा नयाँ नयाँ पक्ष र दृष्टिकोणलाई अगाडि ल्याउन मद्धत गर्छ ।
नयाँ दृष्टिकोण र चुनौतीकै कारण लेखनलाई गहन विषय मानिएको हो । त्यसमा पनि थोरैमा धेरै भन्ने विशेषताका कारण काव्यको विशेष महत्व रहेको हो । हाइकु थोरै शब्दमा लेखिन भएकाले यो अझ बढी चुनौतीपूर्ण मानिन्छ ।
काव्यको सबैभन्दा सानो रुप सायद हाइकु भएकै कारणले पनि यस विधामा रुचि राख्नेहरुको संख्या बढेको अनुमान गर्न सकिन्छ । अनुभूतिको तीब्र सम्प्रेषण हुने तथा विम्बको बाटो भएर जीवनका विविध पक्षलाई गहन ढंगले बोध गराउनु यसको विशेषता मानिन्छ । त्यसै कारण पनि हाइकुलाई सानो आकारमा ढालिएको जीवनको गहनतम अभिव्यक्तिको रुपमा लिइन्छ ।
लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका स्रष्टा मोहनबहादुर कायस्थ तरेली (२०६१)को प्रकाशनदेखि हाइकुलेखनमा जोडिनुभएको हो । पुष्कर लोहनी, विष्णुबहादुर सिंहको संगतमा उहाँले हाइकुमा कलम चलाउनुभयो साथै संयुक्त रुपमा संकलन पनि निकाल्न थाल्नुभयो । नेपाली साहित्यमा हाइकुलाई उचाल्न र यसको प्रसारमा ती प्रकाशनको पनि भूमिका रह्यो भन्ने ठाउँ छ । यद्यपि स्रष्टा कायस्थले त्यसपछि हाइकुलाई निरन्तरता दिनुभएन । नत्र उहाँको लेखनमा हाइकुले केवल प्रकृति र विम्बमय चित्रलाई मात्र अंगालेको नभई त्यसमा व्यक्तिचित्र र समसामयिकीलाई पनि प्रमुख विषयका रुपमा प्रस्तुत गरिएको पाइने थियो ।
विशेषगरी जागिरे जीवनपछि साहित्यिक लेखनमा उहाँले सक्रियता देखाउनुभएको हो । उहाँका कथा, कविता, मुक्तक, गजल, हाइकु र व्यक्तिविशेषका साथै विद्युतसम्बन्धी कृतिरचनाहरु पाँच दर्जनभन्दा प्रकाशित छन् । लेखनको क्रममा स्रष्टा कायस्थले हाइकुमा पनि विशेष रुचिका साथ कलम चलाउनुभएको हो ।
हाइकु सम्बन्धी उहाँका तरेली(२०६१), चौतारी (संयुक्त रुपमा), आँखा हाइकुतिर(२०७१) कृति प्रकाशित छन् भने प्रस्तुत हाइकु २०२० भर्खरै सिर्जना अभियान समाजबाट प्रकाशित भएको संग्रह हो ।
प्रस्तुत पुस्तक हाइकु २०२० मा कवि कायस्थ अपेक्षाकृत गम्भीर देखिएका छन् । उनको गम्भीरता हाइकुमा प्रयुक्त शब्द र त्यसको सन्देशबाट परिलक्षित हुन्छ । उनले यस पटक हाइकुमा अघिल्ला पुस्तकमा झैं व्यक्तिचित्र र प्रवृत्तिलाई हाइकुको विषय बनाएका छैनन् । तर उनी सरल रुपमा आजको सामयिक परिस्थितिका विभिन्न पक्षहरुलाई प्रस्तुत गर्नमा भने उसैगरी अग्रसर छन् ।
हाइकु २०२० मा समसामयिक जीवनका विविध पक्षहरु’bout लेखिएका चारसय भन्दा बढी हाइकु संग्रहित छन् । पदीय रुपमा कत्र्तव्यच्युत भएको नेतृत्व वर्ग, बाँच्नका लागि अचेल ढोंग गर्नुपर्ने, स्वच्छ छविको मान्छे पाउन दुर्लभ भएको, अहिंसाको कुरा अर्थहीन हुन थालेको, सही व्यक्ति दण्डित हुनुपर्ने, यौन चाहना र सन्तुष्टिको आकार, वीरता र बहादुरीको दयनीय अवस्था, बढ्दो अपराधीकरण, आधुनिकताले अनेक थरिका विकृतिहरु फैलाइरहेको, संस्कृतिप्रति अनभिज्ञता र उपेक्षा बढेको जस्ता समसामयिक विषयकै सेरोफेरोमा यी हाइकु लेखिएका छन् ।
उनका हाइकुका केही नमूना ः
(१, गयो हरिचा
आउँछ राम दाइ
झोला बोकेर
(२, सृष्टिको दृष्टि
लोभीपापी छ
अँगालो मार्दा
(३, डिस्को डान्समा
पुट्टो फर्केको मजा
राजन् महात्म्य
(४, नौलो प्रस्तुति
खारेजी र नियुक्ति
विकासे पथ
(५, मभित्रको म
चिन्तन गरी बस्छ
आत्मकहानी
(६, उदास मन
चिन्तनको चौतारी
दूर क्षितिज
(७, शरण पर
लोकहित नछाड
गोमन सर्प आदि ।
८, आमाको मन
किसानी घामछाया
मलिलो माटो ।
थोरै शब्दमा लेखिनुपर्ने, प्रत्येक पंक्ति एकअर्कोबाट पृथक रहेर एउटा विशेष अनुभूतिको निर्माण र विम्बका माध्यमबाट प्राकृतिक चेतना र जीवनको दर्शनलाई व्यक्त गरिने भएकाले कतिपय हाइकु तत्काल सम्प्रेषण हुन्न । त्यसका लागि गम्भीर अध्ययन र सोचको आवश्यकता पर्छ । तर नेपालीमा लेखिने प्रायशः हाइकुले तात्कालीक समसामयिक सरोकारलाई नै सहज रुपमा विशेषतः अंगालेको पाइन्छ । विम्बको असहज निर्माण भन्दा परिचित प्रतीक र अनुभूतिको माध्यमबाट समसामयिक जीवनबोधलाई सम्प्रेषणमा विशेषतः ध्यान दिएको पाइन्छ । यही कारण नेपाली हाइकु पाठकहरुका लागि परिचित एवं सहजै सम्प्रेष्य हुन्छ ।
थोरै अक्षर, सानो संरचना र तीन हरफको आकारमा अभिव्यक्त हाइकुले कतिपय जटिल, गम्भीर र विस्तृत पक्षलाई समेट्न सक्छ । मोहनबहादुरका यसमा संग्रहित हाइकु पढेपछि हाइकुले ओगटन सक्ने वृहत आकार र आयामलाई अनुभूत गर्न सकिन्छ । जीवनको व्यापकता र समग्र रुपलाई केवल महाकाव्यमा मात्र व्यक्त गर्न सक्छ भने होइन दुई चार शब्दको माध्यमबाट पनि प्रस्तुत गर्न सकिन्छ । थोरै शब्दको संयोजन मार्फत जीवनको व्यापक कोण र दृश्यलाई छर्लङ्ग पार्न सकिन्छ ।
स्रष्टा मोहनबहादुर कायस्थको यो कृति हाइकु २०२० ले नेपाली समय र समाजको चरित्र र अवस्थालाई विभिन्न दृष्टिकोणबाट अभिव्यक्त गरिएको छ । प्रस्तुत कृतिका सबै हाइकु एकै स्तरका छैनन्, अवश्य हो । केही हाइकु सामान्य स्तरका छन् । पाँच सात पाँच अक्षरमा मात्र आधारित रहेर शब्दको प्रयोगमा ज्यादा ध्यान दिइएकाले ती हाइकुमा अर्थ र भाव गाम्भीर्यताको पूर्णतः अभाव रहन गएको मान्न सकिन्छ । तथापि सम्प्रेष्य हुनेगरी समसामयिक परिवेश र जीवनबोधलाई सहज रुपमा चित्रण गरिएका यी हाइकुहरुले यस विधाका अध्येता तथा पाठकहरुका निम्ति अवश्य पनि नयाँ अनुभूति दिलाउने विश्वास गर्न सकिन्छ ।