होटलको आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज, भदौ २२ : होटलको आइसोलेसनमा बसेका बाँकेका एक कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
गएराति बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब संकलन गरिएको थियो। भदौ १५ गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो। संक्रमण देखिएपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बस्दै आएका थिए। तर, आइसोलेसनमा बसेका वेला श्वासप्रश्वासमा समस्या आएको थियो।
त्यसपछि उनलाई भदौ १८ गते कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए। श्रेष्ठका अनुसार उनी मुटुरोगबाट पीडित थिए।