सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको मृत्यु, २२ भन्दा वढी वेपत्ता

काठमाडौं, भदौं २८ : लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ भीरर्खक, नाकुचे र केम्मे भन्ने स्थानमा गएको पहिरोमा परी २ जनाले ज्यान गुमाएका छन् भने २२ जना वढी वेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाकाले दिएको जानकारी अनुसार भीरर्खकमा ३ घर, नाकुचेमा कम्तीमा ७ वाट घर पहिरोले पुरेको छ ।

भीरखर्कमा हालसम्म २ जनाको शब भेटिएको र भीरखर्क र नाकुचेमा गरी २२ जना भन्दा वढी वेपत्ता रहेको सापकोटाले बताए । मृत्यु हुने २ जनाको नाम खुलेको छैन् ।

यसैगरी केम्मे भन्ने स्थानमा गएको पहिरोमा परी ३ जना घाईते भएको र अन्य विवरण आइनसकेको उनले बताए । अहिले घटनास्थलमा स्थानिय र प्रहरी उद्धारमा खटिएका छन् । 

लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।(रासस)

–––