अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको अपिल
१९ औं पटक चिकित्सा शिक्षा सुधारका लागि १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन्।
आइतबार विज्ञप्ति निकालेर उनीहरूले केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गरेका छन्।
यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग पनि गरेका छन्।
‘डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना, पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा, शम्भु थापा, भीमार्जुन आचार्य लगायतले संयुक्त अपील जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न सरकारलाई अपील गरेका छन् ।
केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको पनि अपिलमा उल्लेख गरेका छन्।