न्याय, निष्ठा र समर्पणको भोक

डाक्टर सुजाता पन्त 



भोक तिमीलाई पनि लाग्छ
मलाई पनि लाग्छ
र उहाँलाई पनि लाग्छ
फरक यति हो
तिमीलाई पैसाको भोक लाग्छ
बैङ्का ब्यालेन्स र चिल्लो कारको
भोक लाग्छ।
एस आराम र
भौतिक सुखको भोक लाग्छ ।
मलाई न्यायको भोक लाग्छ
मानवताको भोक लाग्छ
कर्णालीमा रक्तश्रावले
सुत्केरी आमा मरिरहदा
त्यहाँ मलाई मातृत्वको भोक लाग्छ ।

एउटा मजदुरको छोराले
डाक्टर पढ्छु भन्दा
पहिले उस्ले आफ्नै बा को मृगौला
कलेजो र फोक्सो एक एक गरी बेच्नुपर्छ
तिमीले मेडिकल शिक्षालाई
चटपट र चाउचाउको व्यापार
सम्झेर खेलेर
डाक्टरको नाममा हत्यारा जन्माइरहदा
मलाई सच्चा डाक्टरको भोक लाग्छ ।

मलाई जुस पिउन हतार छैन
पटक पटक तिमीले मलाई
जुस र बिष सँगै मिलाएर
पिउन भन्यौ
र भत्कायौ सबै सबै सम्झौताहरु
जहाँ मेरा मेरा काँपिरहेका हातहरुले
हस्ताक्षर गरेका थिए
सारा नेपालीको आवाज
र स्पन्दन बोकेर ।

फाँसी देउ झुन्ड्याइदेउ
र मर्न देउ मलाई
म मरेर केहि हुन्न
तिमीले अस्ती चुनाव जितेर
बिजयको सिन्दुर यात्रामा लाएको
फूल मालाले तिमी
मेरै शवयात्रा तयारी गर्दै गर
तर बिन्ति
त्यस्को बदलामा ३ करोड जनताको
स्वस्थ जीवन बाँच्न पाउने अधिकारको
सुनिश्चितता देऊ
पैसाको अभावमा अस्पतालकै छतबाट
हाम फाल्न बाध्य नबनाइदेउ कसैलाई
कर्णालीका जनतालाई बस यही सम्झाइदेउ
र तिमी यती सम्झिराख
म मरेर गएपनी मर्ने छैन कहिल्यै
म भित्रको न्यायको भोक ,
निष्ठाको भोक ,
समर्पण र खबरदारीको भोक
मानवताको भोक
अनि सत्याग्रहको भोक ..
म मर्ने चोला लिएर आएको हुँ
मर्नु पर्ने जान्द्छु ।
तर मेरो नश्वर चोला
आम सर्वसाधारणको
लागि फेरियोस ।
आम मान्छेको लागि मर्न
पाइयोस ।
फगत ,
धन दौलत र द्रव्य पिपासु भएर
लामो आयू बाँच्नु भन्दा
निर्धन भएर मानवीय कर्म गर्दै मर्न
पाइयोस् ।
न्याय , निष्ठा र समर्पण कै भोकले मर्न पाइयोस् ।