चिकित्सक संघद्वारा डा. केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं, असोज २१ :  नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। 

चिकित्सा क्षेत्र सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको हो।

सरकारलाई डा. केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बुधबार संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी बिहीबार ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने जनाएका छन्। देशभरका अस्पतालमा धर्ना दिँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरिने संघले जनाएको छ।

यस्तै, भोलिदेखि नै संघका शाखा कार्यालय र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर अर्को सूचना नआएरसम्म कालोपट्टी बाँधेर रिले अनसन गरिने छ।

यस्तै, डा. केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नबनाए असोज २३ गते एक दिनका लागि देशैभरका स्वास्थ्य दसंस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय संघले गरेको महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले घोषणा गरेका विरोधका कार्यक्रमबाट उत्पन्न हुन सम्ने गम्भीर परिस्थितिप्रति सरकार आफैँ जिम्मेवार हुने बताएको छ। 

हेर्नुस् विज्ञप्ति :