उपत्यकामा २५४० सहित देशभर थप ४३६४ जनामा कोरोना संक्रमण
काठमाडौँ, २२ असोज : पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ , ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।यी सहित देशभर संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ जना रहेको छ भने संक्रिय संक्रमितको संख्या देशभर २६ हजार ६८४ जना रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यीसहित हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।