थप २०५९ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४०९

काठमाडौँ, २३ असोज : पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो।
काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनालाई संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। यो संगै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ।जसमा संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। यीसहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।