सुमित शर्माको उपन्यास ‘प्रवास’ बजारमा

सुमित शर्माद्वारा लिखित शरच्चन्द्र वस्तीद्वारा सम्पादित उपन्यास प्रवास भर्खरै बजारमा आएको छ। यो उपन्यासको केन्द्र बिन्दुमा निम्न मघ्यम वर्गका बुढ्यौली उन्मुख ‘अली’ छन् । मूलतः ‘अली’ आधुनिक मानिस हुन् । आधुनिक समाजले थोपरेको जिम्मेवारी निर्वाह गर्न उनी बाध्य छन् । त्यसैले आफ्नै तनाब, अन्योल र एकान्तसँग बाँच्न अभिशप्त पनि । तपाईं हामी सरह । जीवनको कुनै बिन्दुमा पुगेर उनले आफ्नै चाहनाहरूको कारागारबाट मुक्ति खोज्छन् । के उनले मुक्ति पाउँछन् ? या एक कालखण्डद्वारा निर्मित आफ्नै आत्मछविको मृत्युको विलाप गुनगुनाउन बाध्य हुन्छन् ? उपन्यासको मूल प्रश्न यही नै हो ।
 
अलीले एक समग्र कालखण्डको नेतृत्व गरेका छन् । आधुनिक कालको । यो उपन्यासमा मानिसका सम्बन्धहरू अत्यन्त मार्मिक ढँगबाट प्रस्तुत गरिएका छन् । तिनका विरोधाभास झन यथार्थपरक लाग्छन् । कथावस्तु सामान्य छ । तर दार्शनीक पक्ष बलीयो । भाषा स्तरिय छ । बगेको छ । शुरू गरेपछी नसकी छोड्न मन नलाग्ने । पाकिस्तान र क्यानेडियन परिवेशमा लेखिएको भएता पनि यो उपन्यासको कथा नेपाली परिवेशकै लाग्छ ।
 
सुमित शर्मा समीरले पछिल्लो डेढ दशकदेखि विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थामा काम गरेको अनुभव बटुलेका छन् । कुनै समय टेलिभिजन पत्रकारका रूपमा काम गरेका उनको राष्ट्रिय स्तरका पत्रपत्रिकामा लेख रचना छापिन्छन् । लण्डन स्कुल अफ इकोनोमिक्स, बेलायत र क्विन्स विश्वविद्यालय क्यानडाबाट दुई छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका समीरको यो पहिलो नेपाली उपन्यास हो ।

केहिदिन अगाडी साहित्यकार नरेन्द्रराज शर्मा र चर्चित अभिनेत्री मनीषा कोइरालाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए।