दुर्गा भवानीलाई डिजे (भिडियो सहित)

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत असोज २३ मा एउटा सूचना प्रकाशित गरेको थियो । त्यहाँ प्रष्ट भनिएको थियो– धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्काे ध्वनी प्रवाह हुने, ध्वनी प्रदुषण बढ्ने, स्वास्थयमा समस्या आउन सक्ने र शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकुल प्रभाव परी विभिन्न दुर्घटनाहरु समेत हुन सक्ने भएकाले जिल्ला सो सिस्टममा प्रतिबन्ध लगाइएको छ ।

तर जिल्ला प्रशासनको सो निर्णयलाई वेवास्ता गर्दै सर्लाहीको लालबन्दीमा ‘दुर्गा भवनी पुजा मूल समिति’ गठन गरेरै दुर्गा पुजा कार्यक्रम आयोजना गरिनुका साथै चर्काे ध्वनीमा डिजे समेत बजाइएको छ । त्यसमा पनि भजनभन्दा धेरै भोजपुरी आइटम गीतहरु बजाउने गरिएको छ ।

लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खड्कालाई यस’bout प्रश्न गर्दा उनले प्रशासनको आदेश बमोजिम यस्ता क्रियाकलाप हुन नहुने भएता पनि भइरहेको भन्दै निरिहता प्रस्तुत गरे । उनले भने– ‘जिल्ला प्रशासनबाट डिजे रोक्न पत्र आएकै हो, हामीले पत्र प्राप्त पनि गरेकै हो, तर यसलाई रोक्ने मुख्य जिम्मेवारी इलाका प्रहरीको हो । हामी पनि केही गरौंला ।’

डिजे प्रतिबन्धको आदेश पालना नगरेमा सिस्टम जफत गर्नुका साथै प्रचलित कानून बमोजिम कारबाही गरिने बताए पनि मुख्य सडकमै मञ्च बनाएर डिजेमा आइटम गीत बजाइरहँदा इलाका प्रहरी कार्यालय लालबन्दी भने मौन छ ।

नगर प्रमुख निर्वाचित भएकै दल निकट व्यक्तिहरुले आयोजना गरेको कार्यक्रम भएकाले नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको निर्णयलाई वेवास्ता गरेको स्थानियहरुको भनाईं छ ।

जिल्लाको उत्तरी भेगका बजारमा दशैंको बेला यसरी मञ्च बनाएर दुर्गा पुजा गर्ने चलन केही वर्षयता मात्र आएको हो । जिल्लाकै सीमावर्ती बजार र भारतीय संस्कृतिको सिको गर्दै सुरु भएको यस्ता गतिबिधिले समाजमा सामाजिक सद्भाव बिगार्न र ध्वनी प्रदुषण गर्नमा मुख्य भूमिका खेलिरहेका छन् ।