दशैं आयो

जब बा भन्नुहुन्थ्यो दशैं आयो

म पूर्वको आकाशतर्फ हेर्थें दशैं आयो ?

फेरि हेर्थें धौलागिरीमा दशैं आयो कि

अनि धौलागिरीमा बिहानीको रश्मी मुस्काउँथ्यो  

सायद उडेर आउँछ दशैं च्याप्प समात्नेछु

मन्दमन्द बग्दै आउँथ्यो शीतल हिमाली समीर

सँगै उडेर आउँथ्यो मीठो दशैं

हामीले थोरै थोरै कमेरो खोजेर ल्याउँदा

थोरै थोरै सुवासित रातो माटो बोकेर ल्याउँदा

सानासाना नरम हातहरुले आँगनी सिँगार्दा

सुशोभित मटमैला हाम्रा मुहार देर्दै 

ठूलोबा भन्नुहुन्थ्यो लौ केटाकेटी हो ! दशैं आयो

हामी शान्त शालीन ठूलोबामा सानो दशैं देख्थ्यौं

समीको लामो हाँगामा पिङ हाल्दा

जब आकाशमा सेता सुन्दर बादलुहरु

खुर्पेचन्द्रसँग लुकामारी खेल्थे

जब साना हातले बाटिएको मसिनो डोरी देखेर

मायालु घर्तीबा भन्नुहुन्थ्यो

‘पख म बलियो डोरो बाटिदिन्छु’

ल खेल बाबु नानीहरु ! दशैं आयो

जब बा ‘या देवी सर्वभूतेसु’ गाउनुहुन्थ्यो 

फेरि सुजिकार काका नयाँ नाना लिएर आउँदा

हामी बालबालिका रमाउँदा

केराको हरियो पातमा बसेर पिङ खेल्दै

जब काग कराउँथ्यो 

हजुरआमा भन्नुहुन्थ्यो सुबोल सुबोल सुबोल

हामी बुझिहाल्थ्यों दशैं आयो

बा र अरु सबै बाहरु मिलेर

बाटाका काँढा फाँडेर भड्खारा पुर्दा

सम्म बाटो पाएको सानो बाछी

ठाडो पुच्छर लाउँदै जब हर्षमा मन्द्राउँथ्यो  

गोठाला दाइ भन्थे दशैं आयो

जब हामी दश पैसे ढ्याक लिएर

नेवार साहुकहाँ

‘साहुजी एउटा चङ्गा दिनुस न’ भनेर माग्दा 

साहुबा भन्नुहुन्थ्यो  दशैं आयो ?

‘गडी मिस्री र छोहारा पनि छ है नानी !

किनिहाल यही मौका हो’ दशैं आयो 

पूजाकोठीको मझेरीमा जौ छरेर

जब बा भन्नुहुन्थ्यो ‘झ्याल नखोल है जमरा बिग्रन्छ’ 

जब ढिक र कान्लामा लहलह फूल हाँस्न थाल्थे

पाक्न ठिक्क परेका अम्बा जब जमरा जस्तै पहेँला देखिन्थे

जब चरीले अम्बालाई ठुग्न थाल्थ्यो

अनि सानी बहिनी भन्थी

‘चली तनि आयो दथैं तनि आयो’

जब आमाले मस्यौरा पारेर

छानामा सुकाउनुन्हुथ्यो

हजुरआमाले पहेँला काँक्रा काटेर

सेतो भागतर्फ छुकुन छुकुन पार्दै सिँगारी 

 सुपोमा सजाएर सुकाउनुहुन्थ्यो जब

 भँगेरी चरी गाउँथ्यो दशैं आयो

जब मर्मत गरी सम्याइएको सजिलो बाटो हुँदै 

रातो पछ्यौरीले छोपिएका डोकामा

भरिया दाइलाई मालभोग केरा कुराउनी र रोटी बोकाएर

लजालु किशोर केटो ससुराल गएको देखिन्थ्यो

चरी पनि जिस्क्याउँथ्यो दशैं आयो ?

जब षष्ठी सप्तमीमा 

घरघरै पालैपालो दिदीहरु रोटा पकाउँथे

जब झिसमिसेमै आदरणीय गाइने दाइ आएर

‘जय देवी भवानी गोरखनाथ दर्शन दिनु भवानी’ गाउनुहुन्थ्यो 

पधेर्नी काकी भन्नुहुन्थ्यो

मीठोमीठो गाऊ प्यारो भाइ दशैं आयो

जब काला चिल्ला बाकस बोकेका भरिया अघि लाएर

मद्यपानको मन्द सुरमा ‘क्या मालुम’ भन्दै

लाहुरे काका आउँथे 

लाहुरेका बूढाबाबुले  जब राता गिंजा देखाउँदै 

‘अच्छा लेकिन आइपुगिस लाउरे ?’  भनेको सुनिन्थ्यो

लाहुरेनी काकीका मादक गाला बोल्थे दशैं आयो

जब झाइँ झाइँ पन्चे बाजा बजाउँदै

काला भैरमबाबालाई पन्चबलि चढाउन 

दर्शनार्थीहरुको लस्कर उकालो लाग्थ्यो

नवमीका दिन जब एक धार्नी मासु ल्याएर

बाले आमातर्फ सङ्केत गर्दै भन्नुहुन्थ्यो ‘यी यो राख’

अनि आमाले तमौरामा सजाएको मासु देखेर

सानो भाइ भन्थ्यो ‘नाथु तनि आयो दथै तनि आयो’

बिहानै नुवाइ धुवाई गरी

नयाँ नाना लाएर सजिएका हामीलाई

हजुरबाले ‘आयु द्रोणसुते श्रीयं दशरथे’

 र ‘जयन्ती मंगलाकाली’ को आशीर्वाचन गर्दै

को हो भन्ने  ठम्याउन नसकी

यसो हेर्दै जब सोध्नुहुन्थ्यो ‘तँ कौनो होस् ?’

सबैजना बुझ्थे दशैं आयो