राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । सो क्रममा राष्ट्रपति भण्डारीले उहाँलाई टीका र जमराको माला लगाइदिनुभएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिनुभएको थियो । कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।