किसानलाई बाली भित्र्याउने चटारो
गाउँघरमा कामको माचो छ । पर्वको याममा किसान भने बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारो छ । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो । कतिले त धान भित्राएर गहुँ छरिसकेका छन् ।
वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ ।
धान भित्राइ सक्दानसक्दै बारीमा कोदो पनि पाकेको गलकोट नगरपालिका–७ मल्मका किसान तुलाराम खड्काले बताउनुभयो । दशैँको भोलिपल्टैबाट खेताला लगाएर कोदो काट्न शुरु गरेको उहाँको भनाइ छ । यसपालि चाडबाड पछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसान बताउँछन् । गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोटमा झण्डै १५ प्रतिशत मात्र धान काट्न बाँकी रहेको बताउनुभयो । “यहाँ रोपाइँ पनि छिट्टै हुन्छ र कटान पनि”, उहाँले भन्नुभयो, “धान भित्राएका किसान गहुँ र्छनमा व्यस्त छन् ।”
कालो पोके रोगले धानबालीमा केही असर पु¥याएपनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास नआएको प्रमुख सुवेदीको भनाइ छ । किसानले स्थानीय जातको सट्टा वर्णशङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उहाँले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । गलकोटसहित कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका भेगमा चाँडै रोपाइँ हुने भएकाले बाली पनि छिटै पाक्छ । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिकालगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ, धान पनि पछि पाक्छ । जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ ।
उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ । बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन् ।
खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन् । खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ । किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताउनुभयो । रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको उहाँको भनाइ छ ।
आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ । ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् ।—