सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्छु : डा. गोविन्द केसी

काठमाडौं, कात्तिक २० : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभए फेरि आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न इमान्दारिता नदेखाए फेरि अनशन बस्ने चेतावनी दिएका हुन्। 

‘१९ औँ अनशनका क्रममा सरकारले गरेका सहमति तत्काल कार्यान्वयनमा लैजानु पर्छ,’ उनले भने, यदि सरकार सहमतिप्रति इमान्दार भएन भने फेरि सत्याग्रह बस्छु।’

उनले शिक्षा र स्वास्थ्यलाई सरकार तथा राजनीतिक दलले व्यापार गरेको बताए। ‘ सरकार र दलको शिक्षा र स्वास्थ्यको व्यापार मात्र गर्ने ध्येय छ,’ उनले भने,‘ तर जनतालाई सेवा दिने विषयमा कुनै चासो छैन।’

डा. केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षामा नेपालले फड्को मार्ने बताए।