धुम्बाराहीमा दिउँसो ३ बजे प्रचण्डले बोलाए सचिवालय बैठक, प्रधानमन्त्री नजाने

पार्टीभित्र विवाद बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग सचिवालय बैठक बोलाउनुपर्ने धारणा राख्दा प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए।
गत आइतबार प्रचण्ड निवास खुमलटारमा ६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो। वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए।
कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।