कोरोनाले छेकेन आदिनाथ लोकेश्वरको आस्था (फोटो फिचर)

काठमाडौंको दक्षिणी भेग चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा बडादशैंको कोजाग्रत पूर्णिमादेखि एक महिना मेला लाग्ने गर्दछ । यो मन्दिर हिन्दू र बौद्ध धर्मका धर्मावलम्वीको आस्था बोकेको मन्दिर हो भने यस मन्दिरको आफ्नै मौलिकता तथा पर्यटकीय महत्व पनि रहेको छ ।

कीर्तिपुर नगरपालिका–६ मा रहेको पन्ध्रौं शताब्दीमा निर्माण भएको ऐतिहासिक यो प्यागोडा शैलीको तीनतले आदिनाथ मन्दिर विसं २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि गत बर्ष मात्र पुनर्निर्माण सम्पन्न भएको थियो । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुँडा जस्तो भात पकाउने कसौडी, थाल, लोटा, डाडु, पन्यु, पूजाको थाल आदि किलाले ठोकेर अड्काइएका हुन्छन्, जुन भक्तजनले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुँडा मन्दिरमा ल्याएर ठोक्ने गर्छन्, जो अहिले आएर मन्दिरको मौलिक परिचय जस्तै बनिसकेको छ ।

हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ तर यो मन्दिरमा एउटा अर्को अनौठो व्रत बस्ने परम्परा छ जुन सम्बन्ध विच्छेदका लागि व्रत बस्ने गरिन्छ ।  श्रीमान–श्रीमती विभिन्न कारणले अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ। यो व्रतलाई स्थानीय नेपाल भाषामा ‘माय् अप्सं’ र नेपालीमा ‘निर्जला व्रत’ पनि भनिन्छ । यस बर्ष पनि बडादशैंपछि यहाँ एकमहिने मेला शुरु भएको छ जसलाई आदिनाथ मेला पनि भन्ने गरिएको छ । मेलाको क्रममा विभिन्न रोग लोकेश्वरको जल स्नानले निको हुने भक्तजनहरुको विश्वास रहेको छ ।

तर यस बर्ष कोरोनाको कहरका कारण मन्दिर परिसर लगभग शून्य नै रहेको छ । मन्दिरको मूल ढोका बन्द रहे पनि बिहानको समयमा भक्तजनहरुको आस्थाका कारण पछाडिको ढोका बाट प्रवेश गराईन्छ। मेला समयमा नीकै भीड हुने यो मन्दिरमा थारै भक्तजनहरुको मात्रै उपस्थिति रहेको छ । उपत्यकाका विभिन्न स्थानबाट प्रभातकालीन भ्रमण (मर्निङ वाक) चोभार वरिपरि आउने मानिसहरु यो मन्दिर दशर्नाथको लागि पुग्ने र्गछन् ।

यो बर्ष बिहानको समयमा मर्निङ वाकमा आउनेहरुको नै मन्दिरमा बढि भीड देखिएको छ । धार्मिक आस्था तथा आफ्ना दिवंगत आफन्तका सम्झनामा कोरोनाको कहरको बिचमा पनि भक्तजनहरुको मन्दिर आउने क्रम जारी छ ।