स्वभाव

एउटी युवती थिई – साहै्र राम्री, सुशील र निकै पढेकी । तर उनै युवती एउटा गुण्डा स्वभावको युवकसँग पोइल गई ।
यो देखेर शहरमा सब चकित भए ।
त्यो युवकलाई नचिन्ने मान्छे कमै होलान् शहरमा । कसैलाई अनाहकमा पिट्ने, गुण्डागर्दी गर्ने, बाटोमा बसेर तरुनीहरुलाई जिस्क्याउने र अश्लील ठट्टा गर्ने उसको नियमित कार्य थियो ।
यस कारणले त्यो बदनाम थियो शहरमा ।
यो कुरा त्यस युवतीलाई पनि जानकारी थियो ।
तब ?

सबको लागि यो बुझ्न नसक्ने पहेली झैं भयो ।
एकदिन सबैको सामु पहेली खुल्यो ।

एकदिन युवती बजारमा किनमेल सकेर फर्किरहेकी थिई । त्यो अनुहारमा कुनै चिन्ता, कुनै प्रकारको गुनासो थिएन ।
कसैले सोध्यो – तपाइँले त्योसँग त्यस्तो के देख्नुभयो ? अर्थात् त्यस्तोसँग पोइल जानुको रहस्य के छ ?
युवती एकैछिन चुप लागी र मुसुक्क हाँसी ।

त्यसपछि युवतीले जवाफ दिई – त्योसँग मीठो बोली छ । सबभन्दा ठूलो कुरो त त्यो मेरो रुपको प्रशंसा गर्छ । गुण्डो स्वभाव त प्रत्येक पुरुषसँग हुन्छ ।