“प्रिय डाक्टर तिमी बाँच्नुपर्छ “

 डाक्टर सुजाता पन्त

कोभिड सङ्क्रमित सिकिस्त डाक्टरलाई एक बिरामीको चिठी

प्रिय डाक्टर,

खै कसरी सम्बोधन गरु तिमीलाइ कहाँबाट सुरु गरौ । यो विषम परिस्थितिमा सारा जगतको सेवा गर्दा गर्दै आज तिम्रै ज्यान धरापमा परेको छ । मेरो प्रिय जीवनदाता, त्यो निर्दयी कोरोनाले तिम्रै फोक्सोमा यति गिद्दे नजर लाइदियो अनि तिमी आज केवल सास फेर्नकै लागि यति सङ्घर्ष गरिरहेका छौ । मलाई आफ्नो ज्ञान बल बुता र सीपले पुनर्जीवन दिने तिमी आज आफै जीवन मरणको दोसाँधमा छौ l

कुनै दिन मेरो टुक्रा टुक्रा भएको हड्डि तिमीले नै घन्टौ लगाएर जोडिदिएको मेरो हातको हड्डिले म आज काम गरेर खान सक्ने भएको छु । त्यही हातले आज तिम्रो सुस्वास्थ्यको कामना गर्दै हात कमाएर केही शब्द कोर्दैछु। मजस्ता कैयौ बिरामीहरू तिम्रो खुट्टाले टेकेर उभिएका छन। टुटेका हड्डीसगै टुटेका धेरै मनहरु पनि जोडिएका छन तिम्रै कारणले । तिमीले बिरामी र मानवजगतको सेवामा आफ्नै जीवनको धेरै महत्वपुर्ण उत्सवहरु मिस गरेका छौ lमलाइ अझै याद छ पल्लाघरे काकाको मेरुदण्डको हड्डी भाचिएर त्यस्तो जटिल भएको बेला तिमी आफ्नो नया पुस्ताको आगमन मनाउन बेबी सावरमा जान ठिक्क परेको थियौ त्यही बेला त्यो स्थगित गरेर काकाको उपचारको लागि बसेका थियौ । मेरै अपरेसन गर्ने बेला तिमीले आफनो छोराको न्वारन पनि मिस गरेका थियौ । तिमीले आफनो र आफ्नो परिवारको खुसी बिर्सेर अरु साराको खुसी र भरोसा जोगादियौ । हरेक दशैमा आफू घर नगइकन बिरामीको सेवामा खटेर सकेसम्म सबैलाई  दशै अगाडि नै निको पारेर घर पठाउन तल्लीन हुन्थ्यौ। कुन दशैँ कुन तिहार कुन विवाह उत्सव कुन पार्टी तिमीलाई मतलव हुदैन थ्यो मतलव हुन्थ्यो त आफ्नो कर्तव्य र मानव सेवा l एक सामाजिक प्राणी भएको हुनाले तिमीलाई पनि बिभिन्न उत्सव पर्व र पारिवारिक जमघट मिस गर्दा कता कता पोल्थ्यो होला , दुख्थ्यो होला तर पनि त्यो दुखाईमा मलम मानवीय धर्म निर्वाह गरेर पुरा गर्थ्यौ l कति महान छौ है तिमी जसलाई भोक तिर्खा निन्द्रा र थकाईको मतलव हुन्न जति मतलव हुन्छ आफ्ना विरामीको ?

तिम्रा डाडामाथिका जून भैसकेका बुढा बाबा आमाको चाउरी परेका आखाहरु तिम्रो बाटो कुर्दा कुर्दा थाकिसकेका थिए । दमले ग्रस्त आफ्नै बा को छाती तिमीले आफ्नै हातले आला लगाएर सुन्न नपाएको बर्षौ भैसक्यो। तिम्री आमाले बाबू मेरो घुडा दुखेर हिड्डुल गर्नै नसक्ने भए भनेर फोन गर्दा तिमी फोनबाटै औषधीको नाम भन्ने गर्थ्यौ । कैयौ साल तिम्रा लागि भनेर साँचेर राखेको दशैको जमरा पूर्णिमाको भोलिपल्ट निराश भइ सेलाइएका थिए । हरेक बर्ष तिहारमा मखमली माला उनेर माइत आएकी तिम्री दिदी खाली हात खाली निधार रुदै रुदै भाइटिकाको भोलीपल्ट माइती फर्किने गर्थिन। मैले देखेको छु बर्षौ पछि परदेशबाट आइपुगेको तिम्रो भाइ तिमीलाइ भेट्न अस्पतालमै आइपुगेको थियो। एक घन्टा पनि आफ्नो भाइसग बस्न नपाउदै तिमी अपरेसन थिएटर तिर दौडिएका थियौ । कैयौ आमा बाबुको काख रित्तो हुन नदिन तिमीले ती कलिला जीवनहरुको लागि तिमीले जति त्याग र समर्पण गरेका थियौ त्यही कारण तिम्रो आफ्नै छोरोले तिमिलाई नचिन्ने भैसकेको थियो। यी सबै सबै कठिनाइ त्याग र समर्पण तिमीले केवल मानवजीवन रक्षाकै लागि गरेका थियौ। तिम्रो आफ्नै जीवनका धेरै पाटाहरु भत्किएका थिए र व्यक्तिगत प्रयोजनका थुप्रै सपना र योजना थाँती थिए,छन् l र पनि तिमी सधै सधै अरुकै जीवन अरुकै शरीर मर्मत सम्भार गर्नकै लागि दौडिरह्यौ। तिमीलाई आफ्नो र आफ्नो परिवारको भन्दा आफ्ना विरामीको लागि समय चाहिएको छ l

यो महामारिको चपेटामा पनि तिमी त्यति साहस र हिम्मत गरेर आफ्नो व्यक्तिगत जीवन सबै  त्यागेर मानवरक्षाकै लागि लडिरहेका थियौ एक सिपाही बनेर । तिमी बिना डर लाज र घिन नमानी युद्ध मैदानमा उत्रिएका एक योद्धा थियौ ढिलो चाडो यहि निर्दयी कोरोनाले तिमीलाइ पनि लडाउनेछ तिमी पनि त्यसबाट अछुतो रहन सक्दैनौ यो थाहा नै थियो तर तिम्रै फोक्सोमा यति धेरै बक्ररेखाहरु कोरिन्छन भनेर सायद सोचेको थिइन। सारा सन्सारलाइ दोस्रो जीवन दिन सफल तिमी आफैले दोस्रो जीवन पाउछौ कि पाउदैनौ भनेर ती ढुङ्गाका मुर्तिहरुसँग पनि झुकेर यसरी माग्नुपर्छ भनेर सायदै कल्पना गरेको थिएन कसैले।

प्रिय डाक्टर,

तिमी बाच्नेछौ र जसरी पनि बाच्नै पर्छ ती कैयौ जीवात्माहरुको आशिर्बादले पनि तिमीलाइ बचाउनेछ। तिमीले जोडेका ती कोमल हातका ती कैयौ हड्डीहरु आज दुइहात जोडेर तिम्रै जीवनको भिख भगवानसँग मागिरहेका छन । तिमीले नै मर्मत सम्भार गरेका दिमाग र मश्तिष्कहरु आज तिम्रै लागि सोचिरहेका छन। तिमीले रित्तिन नदिएका कैयौ आमाका काखहरुले आज तिम्री आमाको काख खाली हुन नदिन हरपल आशीर्वाद दिरहेका छन। तिम्री नाबालक छोरीको लागि तिमीले पोहोर दशैमा किनेर राखेको जामा यस्पाली छोटो नभइकन छोरीको शरीरमा लगाइदिन पनि तिमी छिट्टै निको भएर घर जानुपर्छ। आजसम्म सारा सन्सारको लागि बाचेका थियौ अब जीवनका केही वसन्तहरु तिमीले ति डाडामाथिका जून बनेका बुढा बा आमा, बिहेको १० दिन देखि बिबशताले टाढा बसेकि तिम्री श्रीमती र ती नाबालक छोराछोरिहरुको लागि तिमीले खर्च गर्नु पर्छ । आफ्नो लागि पनि जीवनको केहि अंश छुट्याउनु पर्छ l डाक्टरको शरीर पनि मेशिन होइन , यसलाई पनि आरामको जरुरि पर्छ l कुनै दिन तिनै बा का हातहरुले तिम्रो शीरमा आशीर्वाद दिइहरदा छिट्टै डाक्टर भएर देशको सेवा गरेस भन्नू भएको थियो त्यसपछिको दशैमा तिम्रा बा ले अशिर्बाद नै दिन पाएका छैनन अहिले त तिम्रो जीवन र मृत्युको दोसाधमा यो हालत देखेर बा लाई नै आफुले दिएको आशीर्वाद प्रती नै पश्चाताप भएको होला। त्यसैले त्यसैले तिमी बाच्नै पर्छ डाक्टर।

तिमी बाच्नु भनेको एक युग बाच्नु हो एक भविष्य बाच्नु हो अनि हजारौ जीवनहरु बाच्नु हो यो समाज र यो देश बाच्नु हो । तिमी बाच्नु भनेको कैयौ आमाहरुको काख कैयौ बा हरुको भरोसा बाच्नु हो। कैयौ नारिहरुको सिन्दुर बाच्नु हो अनि कैयौ नाबालकहरुको अभिभावक बाच्नु हो ।

मिल्ने भए तिम्रो आधा पीडा बाडेर तिमीलाई छिट्टै घर फर्काउन मन छ । ती बुढा बा आमाको काख फेरि भरिदिन मन छ । मिल्ने भए म तिम्रो अक्सिजन बनिदिन मन छ डाक्टर ।

मिल्ने भए मेरो एउटा फोक्सो दिएर तिमी त्यसैले ढुक्कसग सजिलोसँग सास फेर भन्न मन छ।

तिमी छिट्टै निको हुनेछौ र हुनैपर्छ । गेट वेल सुन डियर डाक्टर!

उहीँ तिमीले दोस्रो जीवन दिएको तिम्रो प्रिय बिरामी

तिम्रो शुभचिन्तक

 डाक्टर सुजाता पन्त