विश्वकै चर्चित अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको मृत्यु

विश्वकै सर्वकालिक चर्चित अर्जेन्टिनी महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। घरमै रहेका बेला हृदयघातका कारण उनको निधन भएको हो।

मस्तिष्कसम्बन्धी समस्याबाट बिरामी भएका म्याराडोना दुई हप्ताअघि मात्रै ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए।

सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो।

इंग्ल्याण्ड बिरुद्धको खेलमा उनको हातमा लागेर गोल भएपछी त्यसलाई ‘ह्याण्ड अफ गड’ भनेर पनि भन्ने गरिन्छ। यसपछि उनी फुटबल खेलमा झन् चम्किएर आउन सफल भएका थिए।

सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो। आज पनि धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो। उनको प्रशिक्षणमा २०१० को विश्वकप मैदानमा ओर्लिएको अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीबाट पराजित भयो।