गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा नेपालले गर्‍यो मतदान

गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा संयुक्त राष्ट्र संघमा नेपालले पनि मतदान गरेको छ।

नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा मतदान गरेको हो।

नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै बताएका छन्।

’नेपालले पनि गाँजाको व्यापार र गाँजाजन्य औषधि र वैज्ञानिक प्रयोगका खुकुलो बनाउने पक्षमा मतदान गरेको छ’ ट्विट गर्दै सुबेदीले भनेका छन्, ‘तर लागुऔषधको रुपमा प्रयोग हुने विषयमा भने सबै प्रकारको नियन्त्रणको उपायहरुलाई निरन्तरा दिइने छ।’

बैठकमा भएको मतदानमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा २७ र विपक्षमा २५ मत परेको थियो। एक देशले भने मतदानमा भाग लिएको थिएन।

यो मतदानसँगै गाँजा ५९ वर्षपछि राष्ट्र संघको लागुऔषधसम्बन्धी अभिसन्धिको चौथो सूचीबाट बाहिरिने भएको छ। नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरे पनि २०३३ सालबाट गाँजालाई कडा लागू औषधको सूचीमा राखेको थियो।