मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

मोरङमा नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।

मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।

शिक्षक राजेन्द्रलाई बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट अपहरण गरि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक श्रेष्ठको हत्या गर्नेहरूको प्रहरीले खोजी गरिरहेको छ ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको थियो।