कांग्रेसको देशव्यापी प्रदर्शनमा कुन नेताले कहाँ सम्बोधन गर्दैछन ?

काठमाडौं, मंसिर २६ : सरकारविरुद्ध कांग्रेसले मंसिर २९ गते गर्ने देशव्यापी प्रदर्शनका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो। यसका लागि कांग्रेस केन्द्रले नारा पनि तोकेको छ। प्रदर्शनमा लगाउने १० वटा नाराको सूचि जिल्ला जिल्लामा पठाएको छ।

योसँगै विभिन्न शहरमा कांग्रेस केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन्। सभापति शेरबहादुर देउवाले हेटौडामा हुने प्रदर्शनमा सहभागी हुनेछन्।

त्यस्तै, कांग्रेस वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको प्रदर्शनमा सहभागी हुनेछन्।

यस्तै, सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी हुने कांग्रेसले जनाएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन र अर्जुननरसिंह केसीले पोखरामा सम्बोधन गर्ने भएका छन्।

प्रदर्शनकै लागि गगन थापाले कैलाली, प्रदीप पौडेलले कञ्चनपुर र एनपी साउदले अछाममा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।