नौ महिनापछि पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान सुरु हुने

काठमाडौं, मंसिर २८ : कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन्। नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो। कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो। कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।
भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ। भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ।
काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९(क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन्। यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।
भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ। अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ। नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन्।