तराई-मधेशमा चिसोका कारण चार जनाको मृत्यु

लहान, पुस ३ : तराई-मधेशमा केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा चार जनाको मृत्यु भएको छ।

चिसोका कारण सिराहाको बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिराहाले जनाएको छ।

मंसिर २२ देखि २८ गतेसम्मको अवधिमा चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए। यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कँडेलले बताए।

केही दिनयता मध्यतराईमा चिसो बढेको छ। बिहान र साँझ बाक्लो तुवालो लाग्न थालेको छ। दिउसो पनि मुस्किलले घाम लाग्ने गरेको छ।

तुवालोसँगै चिसो सिरेठो चल्न थालेको छ। जसले गर्दा मध्यतराईको जनजीवन प्रभावित भएको छ। (रासस)