संसद विघटनको विपक्षमा छु, अहिले कुनै समूहमा लाग्दिनँ – बामदेव

काठमाडौं, पुस ११ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। 

शनिबार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्ड र गौतमबीच संसद विघटन र पार्टी विभाजनको स्थिति’bout छलफल भएको थियो। भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमलाई आफ्नो समूहमा आएर महत्वपूर्ण जिम्मेवारी लिन आग्रह गरेका थिए। 

तर, गौतमले अध्यष प्रचण्डको प्रस्तावलाई अस्वीकार गरिदिएका छन्। अध्यक्ष प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको र पार्टीलाई ठूलो धोका दिएकाले आफूहरुको समूहमा खुल्न गौतमलाई आग्रह पनि गरेका थिए। 

जवाफमा गौतमले आफू संसद विघटनको विरुद्धमै रहेको तर, पार्टी विभाजनको खेलमा आफू कतै पनि नलाग्ने स्पष्ट पारेका थिए। गौतमले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको र जोड पनि पार्टी एकता नै रहेको अध्यक्ष प्रचण्डलाई बताएको गौतमनिकट स्रोतले जनाएको छ।

‘उहाँ प्रचण्डले गौतमलाई तपाईं पनि संसद विघटनको विपक्षमै रहेकाले अब हामी मिलेर अघि बढौं। हाम्रो समूहमा आएर महत्वपूर्ण जिम्मेवारी लिनुस्, भनेर भन्नुभयो। तर, उहाँले स्वीकार गर्नु भएन,’ गौतमनिकट स्रोतले भन्यो,‘उहाँले अझै पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ।’

यसअघि पनि अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले उपाध्यक्ष गौतमलाई आफ्नो समूहमा खुल्न आग्रह गरेका थिए। तर, गौतमले आफू पार्टी विभाजनको पक्षमा नरहेकाले दुवै तर्फका भेला र बैठकमा सहभागी नहुने बताएका थिए। पछिल्लो समय पार्टीभित्रको विवाद चर्किएपछि उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले छुट्टाछुट्टै बोलाएका बैठकमा पनि सहभागी नहुने घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा आउन आग्रह गरिरहेका छन्।