बर्दियामा बाघले मोटरसाइकलमा सवार एक महिलालाई झम्टेर लग्यो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले मोटरसाइकलमा सवार एक महिलालाई झम्टेर लगेको छ।

कैलालीको लम्किचुहा नपा वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै झम्टेर लगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार उनका छोरा २२ वर्षीय सन्तोष थापाले मोटरसाइकल चलाएका थिए। 

छोरा सन्तोषका अनुसार ‘मोटरसाइकल अलि स्लो भएकोभएका बेला बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेर गयो, कराउँदा कराउँदा पनि छोडेन।’  

बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोष भागेर  निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेका थिए । उनलाई सामान्य चोट लागेको छ। 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको छोराको मोटरसाइकलको पछाडि उनी सवार थिइन्।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

बाघले मोटरसाइकलमा झम्टिएर महिला लगेर गएको भन्ने खबर पाएलगत्तै राति नै  निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खोजीमा निस्केको भए पनि फेला पार्न सकेको छैन।