आज सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले जवाफ पेश गर्दै

काठमाडौं, पुस १९ : संसद् विघटनविरुद्ध परेको मुद्दामा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसका विरुद्ध १४ वटा रिट परेका थिए।

रिटमाथि संवैधानिक इजलासमा पुस १० गते सुनुवाइ गरेको थियो। सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्नुको कारण देखाऊ आदेश जारी गरेको थियो।

सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुस १९ गतेभित्र लिखित जवाफ पेश गर्न समय दिएको थियो। आज सर्वोच्चले दिएको समयसीमा सकिँदै छ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज लिखित जवाफ पेश गर्न लागेको जनाएको छ। यसका लागि परामर्श चलिरहेको जनाएको छ।

सरकारले भने महान्याधिवक्ताको कार्यालयमार्फत् जवाफ पेश गर्न लागेको छ। आजै दिउसो जवाफ पेश गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

यस मुद्दामा संवैधानिक इजलासमा पुस २२ गते सुुनुवाइ हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको छ।

संवैधानिक इजलासले एमिकस क्युरी पनि झिकाएको छ। एमिकस क्युरीका लागि सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी पठाएको छ। त्यस्तै, नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनालीलाई पठाएको छ।