वैशाख १७ र २७ मै चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको  मध्यावधि चुनाव नहुने भन्दै  आशंका गर्न थालिएपछि  प्रधानमन्त्री केपी ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।  आज बबरमहलमा नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले  तोकिएको समयमै निर्वाचन हुने बताएका हुन् ।

उनले चुनाव हुँदैन भनेर भ्रम सिर्जना गर्न खोजेकोसमेत आरोप लगाए ।  ‘अहिले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । साथीहरुलाई आग्रह गर्न चाहन्छु,  तपाईहरु भ्रममा नपर्नुस्, वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन ।’

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले वैशाख चुनाव नगर्ने दाबी गरेका छन् । यो समूह प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलनमा उत्रिएको छ । तर राप्रपा, नेपाली कांग्रेसलगायत केही दलले वैशाखमा हुने चुनावको स्वागत गरेका छन् ।