न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने

काठमाडौं, पुस २२ : न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन भएको संवैधानिक इजलासमा न्यायाधीश कार्कीलाई राखेका थिए। 

तर, कानून व्यवसायीहरुले प्रश्न उठाएपछि बुधबार न्यायाधीश कार्कीले आफू संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका हुन्। अब स‌ंवैधानिक इजलासका लागि उनको ठाउँमा अर्का न्यायाधीशलाई समेटिने छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए। उक्त संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई समावेश गरेका थिए।

यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्तामा नियुक्त भएका थिए। प्रधानमन्त्री ओलीको महान्यायाधिवक्ताका रूपमा काम गरिसकेकाले न्यायाधीश कार्कीलाई संसद विघटनरविरूद्धको इजलासमा राख्न नहुनेमा कानून व्यवसायीहरुले जोड दिँदै आएका थिए। 

संसद विघटनविरुद्ध बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले संवैधानिक इजलासमा कार्कीलाई राखिएपछि प्रश्न उठाउँदै आएका थिए।