छेकिएको सत्य

समय चलिरहेको थियो ।

मध्यान्हको कुनै बेला । वातावरणमा अलिअलि हावा छ । आकाशमा बस्दै सूर्य धर्तीमा बगिरहेछ । एक जना मान्छे आफ्नो घर नजीकको सडकको मोडमा उभिएर दृश्य पढ्ने प्रचेष्टा गर्दैछ ।

आकाशका छेउछाउहरुमा बादलका टुक्राटाक्रीहरु छरिएका छन् । ती उतिसारो आफ्ना रुप फेरिरहेका छैनन् । पर घरछेउ सडकको मोडजस्तो ठाउँमा उभिएको मान्छे वरिपरिका दृश्यहरुमा अनभ्यस्त तवरले नियाल्ने प्रयत्न गरिरहेछ ।

यसैबेला कतैबाट एउटा डरलाग्दो बाघ टुप्लुक्क देखापर्यो । त्यो यतै आइरहेको थियो । यो देखेर सडकमा उभिरहेको मान्छे भयभीत भयो । भयभीत नहोस् पनि कसरी ! त्यो बाघ थियो – हिंस्रक जन्तु । मान्छेहरुको तातो रगत र चोक्टा चोक्टा मासु रुचाउने । घरपालुवा कुकुर– बिरालो थिएन त्यो ।

भयले ग्रस्त भई त्यसले आँखा छोप्यो । आँखा छोप्नासाथ अँध्यारो भयो । अँध्यारोमा केही देखिएन । सब हरायो – दृश्य, बाघ … ।

त्यो अलि ढुक्क देखियो ।

बाघ निकट आइपुग्यो । तर त्यसले अझै आँखा उघारेको छैन ।