माघे संक्रान्तिको लागि चाकु (फोटो फिचर)


जाडो याममा एकाबिहानै चिसोलाई वास्ता नगरि टोखाका बाबुराज डंगोल आफना आफन्तजन तथा सहयोगीहरुका साथ चाकु बनाउन व्यस्त छन् । २० वर्ष अघिदेखि चाकु उत्पादन गर्न थालेका बाबुराजलाई चाकु बनाउन अहिले भ्याई नभ्याई छ। नजिकिदैं गरेको माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ।

कोरोना महामारीबिच पनि काठमाडौंमा चाकुको माग बढेको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। बाबुराज चाकु प्रोडक्टमा पनि माग निरन्तर आइरहेको रहेको कारण बाबुराज उत्पादन बढाउन बिहानै देखि खटिएका छन् । माघे संक्रान्ति अर्थात नेवार समुदायमा घ्यू, चाकु र तीलको लड्डु खाने दिन तर यो चलन अहिले नेपालीको साझा बन्दै गएको छ।

नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ। सखरलाई करिव एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ। चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेँलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।

पुस महिनामा हुने यःमरि पुन्हिमा नेवार समुदायले चाकुको यःमरि खाने चलन छ ,यःमरि पुन्हिमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो भने माघे संक्रान्तिमा काँचो घ्यू र चाकु खाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ ।