संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न आधा घण्टा

काठमाडौं, माघ ७ : संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। आज भने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेका छन्।

आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ चलिरहेको छ। सुनुवाइका क्रममा बोल्ने कानुन व्यवसायीले धेरै समय लिन थालेपछि प्रधानन्याधीश जबराले समय तोकेका हुन्।

आज सुनुवाइ सुरु हुने वितिक्कै प्रधानन्यायाधीश जबरले समय निर्धारण गरेको बताए। उनले भने, आजदेखि समय निर्धारण गरेका छौं। प्रत्येक कानुन व्यवसायीले बढीमा ३० मिनेट बहस गर्न पाउनेछन्।

न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो भएकाले समय तोकिएको बताए। बहस लामो हुँदा फैसलामा पनि ढिलाइ हुने भएकाले समय निर्धारण गर्नुपरेको बताए।

आज पनि निवेदक पक्षका कानुनु व्यवसायीले बोल्न सुरु गरेका छन्। आज पहिलो बहस वरिष्ठ अधिवक्ता चन्दकान्त ज्ञवालीले गरेका छन्।

आइतबारदेखि चलेको सुनुवाइमा निवेदक पक्षका १० जना कानुन व्यवसायीले बहस गरेका छन्। पक्ष र विपक्षका गरि तीन सय ६३ जनाले बहसका लागि वकलातनामा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गराएका थिए। संविधानविपरित भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। ति सबै रिटलाई एउटै ठाउँमा राखेर संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ।