दक्षिण अफ्रिकामा अन्तरिक्षबाट हात्ती गणना

काठमाडौं, माघ ११ : जंगलको तस्बिरमा चारपाटे हरियो आकारका बक्स देखिन्छन्। ती बक्सभित्र नियाल्दा खरानी रङका धब्बाहरू देखिन्छन्। झनै नजिकबाट नियाल्दा ती धब्बा अरू केही नभई रूखका बीचमा हिँडिरहेका हात्ती हुन् ।

यी ड्रोन या जहाजबाट लिइएका तस्बिर होइनन् । पृथ्वीबाट ६ सय किलोमिटर माथि परिक्रमा गर्ने उपग्रहबाट लिइएका तस्बिर हुन् । उक्त उपग्रहको मद्दतबाट पाँच हजार वर्गकिमिभित्रका सबै वस्तुको राम्ररी अवलोकन गर्न सकिन्छ।

वैज्ञानिकहरू अन्तरिक्षबाटै अफ्रिकी जंगलमा विचरण गर्ने हात्तीका बथानको तस्बिर लिन्छन् । र, हात्ती गणना गर्छन् । तथापि, उपग्रहबाट तस्बिर लिन बादलरहित आकाश आवश्यक हुन्छ ।

चलायमान हात्ती गणना गर्न मेसिनको सहयोग लिइन्छ। कम्प्युटरमार्फत वस्तु गणना या समस्या समाधान विधि (एल्गोरिदम)को निर्देशनमा काम गर्ने कम्प्युटर प्रणालीको मद्दतले हात्तीको पहिचान र गणना गरिन्छ। अन्य जनावर र हात्तीको फरक पहिचान गर्ने प्रणाली कम्प्युटरमा जडान गरिएको हुन्छ ।

बेलायतको युनिभर्सिटी अफ बाथका डा. ओल्गा इसुपोभाका अनुसार एल्गोरिदममार्फत कम्प्युटरलाई कुन हात्ती हो र कुन होइन भन्ने पहिचान गर्न प्रोग्रामिङ गरिएको हुन्छ। मानिसले आफ्नो आँखाले पनि चिन्न नसक्ने सानो विवरणलाई मेसिनले सहजै चिन्न सक्छ ।

वैज्ञानिकहरूको भनाइअनुसार उनीहरूले सबैभन्दा पहिले दक्षिण अफ्रिकाको एडो राष्ट्रिय निकुञ्जमा यसको परीक्षण गरेका थिए । त्यस निकुञ्जमा हात्तीहरूको संख्या निकै ज्यादा थियो। सोही कारण यस निकुञ्जलाई रोजिएको अक्सफोर्ड विश्वविद्यालयका संरक्षण वैज्ञानिक डा. इस्ला डुपोर्गे बताउँछन्।

त्यस निकुञ्जमा ज्यादै ठूला झाडी र घाँसे मैदान छन्। तिनै विशेषताका कारण पनि उत्तः निकुञ्जलाई उपयुक्त ठह¥याइएको उनको भनाइ छ ।

परिक्षणपछि सबै अवधारणाको प्रमाणीकरण भइसकेको छ । ‘अब यसले गति पाउने अपेक्षा छ,’ उनी भन्छन् । वन्यजन्तुका संरक्षक संघसंस्थाहरू जहाज प्रयोग गरी सर्वेक्षण गर्ने पुरानो तरिकालाई प्रतिस्थापन गर्दै यो नयाँ प्रविधि प्रयोगका लागि पहिलेदेखि नै इच्छुक भएको उनी बताउँछन् ।

यो उपग्रहमार्फत लिइएका तस्बिरहरूमा आफ्नो पहुँच बनाउन संरक्षक संघसंस्थाले शुल्क तिर्नुपर्नेछ। यसमार्फत लोप हुने जोखिममा रहेका हात्तीको अनुगमन र संरक्षण सम्बन्धमा व्यापक सुधार हुने अपेक्षा वैज्ञानिकहरूको छ। जहाज प्रयोगको अनुमति नपाइएका अन्तर्राष्ट्रियस्तरका अनुगमनमा यो प्रविधि विधि भरपर्दो हुने अपेक्षा पनि छ ।

अत्याधुनिक प्रविधि

वैज्ञानिकहरू यो प्रविधि हात्तीको अवैध शिकार रोक्न निकै प्रभावकारी हुने ठान्छन् । यसको प्रयोगमा मानिसको आवश्यकता नहुने डा. डुपोर्गे बताउँछन्। किनकि, यसलाई अन्तरिक्षबाटै प्रयोग गर्न मिल्छ । जीवजन्तुको अनुगमनमा प्रविधिको प्रयोग निकै कम छ । त्यसकारण वन्यजन्तु संरक्षणका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्षम हुनु एक ठूलो विकास र सफलता हो।

– बीबीसी डटकमबाट