टिपरको ठक्करले दुई युवकको मृत्यु

महोत्तरी, माघ १२ : महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा महोत्तरीको बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो।
दुर्घटनामा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुड्डुको घटनास्थलमै मृत्यु भएको छ। घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।