चाँगुनारायण कलश यात्रा तथा घ्याम्पो फोर्ने जात्रा


उपत्यकामा चाँगुनारायणको कलश यात्रा तथा प्राचिन लिच्छवीकालिन घ्याम्पो फोर्ने जात्रा सम्पन्न भएकोे छ । चाँगुनारायण, लक्ष्मी र सरस्वती प्रतीकको स्वरूप तीनवटा कलशलाई भक्तपुरको चाँगुबाट तीनजनाले बोकेर रानीपोखरीको उत्तर-पश्चिमस्थित जमलको पाटी पुरयाएका थिए ।

त्यहाँ सरकारी तर्फबाट पूजा सकिएपछि राजखड्ग, शार्दूलजंग पल्टनका साथ आभाष राजोपाध्यय तथा उनका सहयोगीहरुले कमलादी, असन, इन्द्रचोक र मखन हुँदै ती कलशलाई हनुमानढोका पुरयाउदा हनुमानढोका महेन्द्रेश्वर महादेब अर्थात मखन पशुपति मन्दिर अगाडी थुपारेर राखेको माटाका भाँडाकुँडा फुटाएर अपसगुन देखाइएको थियो ।

कोरोनाको महामारीका कारण शार्दूलजंग पल्टनका थोरै जवानहरु मात्रै बाजागाजा विना जमल गई कलशलाई हनुमानढोका ल्याई पुरयाईएको थियो । यसपछि चाँगुनारायणको स्वागत र दर्शनार्थ जीवित देवीका रूपमा रहेकी कुमारीको बिशेष उपस्थितिमा तलेजु मन्दिरका पुजारीहरु तथा राजोपाध्ययायहरुले बिशेष पुजा गरी कलशलाइ मन्दिरमा भित्राए ।

बिष्णु नारायणले आफनो स्थान छोडेर जान लागेको भन्दै तान्त्रिकले ठाँउठाँउमा माटोको भाडो फुटाएर रोकेको र यसले अपसगुन देखाएको भन्दै चांगुनारायण हनुमानढोकामा नै बसेको किबंदन्ति रहेकाले यसै परम्परालाई निरन्तरता दिइएको तारीणी मखन युवा क्लबका अध्यक्षा राजन महर्जनले बताए। लिच्छवीकालदेखि सुरु भएको यो घ्याम्पो फोर्ने जात्रा पहिला पहिला चाँगुनारायण, भक्तपुर, ठिमी, कोटेश्वर, तिनकुने, भोटाहिटी, असन इन्द्रचोक, तिनधारा पाठशाला हनुमानढोका लगायतका स्थानमा माटाका पुराना भाडाकुडा फुटाएर मनाइन्थ्यो तर विगत ३ दशकदेखि सांस्कृतिक परम्परा जीवित राख्न हनुमानढोकामा मात्रै माटाका पुराना भाँडाकुँडा फुटाल्ने क्रम जारी रहेको पनि महर्जनले बताए।

प्रत्येक वर्ष साउन शुक्ल द्वादशीमा पनि चाँगुनारायणलाई शहर ल्याउँदा भने भाँडा फुटाउने चलन छैन । हनुमानढोकामा पुजा सकेपछि तीनवटै कलशलाई राष्ट्रपतिलाई प्रसाद दिन र दर्शन गराउन शीतल निवास पु¥याइएको थियो । राष्ट्रपतिले दर्शन गरेपछि कलशको जललाई शोभाभगवतिसंगैको भद्रमती (भचाःखुशी) मा लगेर सेलाइएपछि कलश जात्रा पनि समापन भएको थियो ।