सहकालका देवता सेतो मच्छिन्द्रनाथको दशकर्म पूजा (फोटो फिचर)


काठमाडौंको केलटोलस्थित जन बहाः (मच्छिन्द्रबहाल) परिसरमा करुणामय देउताका रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ)को प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ ।

सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन शोभा भगवतीबाट ल्याएको शुद्ध जलले बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथलाई महास्नान गराइन्छ । यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाईदिने गरिन्छ।

महास्नानको अवलोकन गर्न जीवित देवी कुमारीको पनि आगमन हुन्छ । महास्नानपछि भोलिबाट मच्छिन्द्रनाथको मूर्तिको आवश्यक मर्मत गर्नुका साथै रंगरोगन मन्दिरकै पूजारीहरुले गर्छन । यसलाई स्थानीय नेपालभाषामा ‘जनबहाःद्यःया लंपू छायेगु’ भनिन्छ । सेतो मच्छिन्द्रनाथलाई महिला तथा पूरुष दुवैको रुपमा पूजिने गरिन्छ । पूर्णिमा (मिला पुन्हि)को दिउँसोसम्म लंपू छायेगु सम्पन्न गरि साँझदेखि मूख्य गुरुजुबाट सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि (महिला र पुरुषमा जन्मदेखि मृत्युसम्म गरिने सबै पूजाविधि) नेवारी समाजमा गरिने प्रचलनअनुसार गरिन्छ । विधिविधान अनुसार पूजा गरि कलशबाट पुनः प्राण प्रतिस्थापन गरेपछि मच्छिन्द्रनाथको नयाँ जन्मको रुपमा छोपेर राखेको अनुहार खोलिए पश्चात आसनमा विराजमान गराइन्छ ।

रातभरिनै सञ्चालन हुने दशकर्म पूजा तथा सेतो मच्छिन्द्रनाथको दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सम्पन्न वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथलाई करूणामय, आर्यवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ ।