संवैधानिक निकायमा सुनुवाइ विना नियुक्ति, आजै शपथ ग्रहण हुने

काठमाडौं, माघ २१ : संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेकाहरुको आज शपथ ग्रहण हुने भएको छ।

विहान ९ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण संसदीय सुनुवाइ हुन पाएन् ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था अनुरुप उनीहरुको आज सपथ ग्रहण कार्यक्रम हुन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्नेछन्।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जनाको नियुक्तिका लाग सिफारिश गरेको थियो।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।