बैतडीमा १७ बर्षीय किशोरीको हत्या

काठमाडौं, माघ २३ : बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पद रूपमा मृत भेटिएकी छन् ।  जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी  हुन् ।

ती किशोरीको शव स्थानीय  लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ ।

उनले भने, “मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी  र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । 

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए। घटनालाई गम्भीररूपमा लिएको र दोषीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

 घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।  (रासस)