भेरी बबईका कर्मचारी तबल नपाएपछि आन्दोलनमा

सुर्खेत, माघ २४ : पारिश्रमिक नपाएपछि भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । एक वर्षदेखि पारिश्रमिक दिन पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नदिएपछि परामर्शदाता कम्पनीका कर्मचारीहरु हडतालमा उत्रिएका हुन्।
पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । यी सबै नेपाली कर्मचारी हुन्।
आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजिसिइ) तथा नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी)लाई परिचालन गरेको थियो । आयोजनाले २०७६ असोज ६ मा इरानी कम्पनी एमजिसिइ तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । हाल यी दुवै कम्पनीले साझेदारीमा काम गरिरहेका छन्।
कम्पनीका कन्सट्रक्सन सुपरभिजन इन्जिनियर हर्कबहादुर ऐरले तलब’bout पटकपटक अवगत गराउँदासमेत कम्पनीले बेवास्ता गरेको बताए । ‘हामीले माघ १९ गतेदेखि हडताल जारी राखेका छौं, यसअघि छ पटकसम्म ध्यानाकर्षण गराइसकेका हौं’, उनले भने, ‘तलब नपाएको एकवर्ष पुग्यो, अब त दैनिकी चलाउन मुस्किल पर्यो।’
आन्दोलनरत कर्मचारीले पारिश्रमिकको विषयलाई लिएर कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत, श्रम विभाग काठमाडौं भेरी बबई डाइभर्सन आयोजना, राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकायमा उजुरी दिएका छन्।
आयोजनाले एक विज्ञप्ति जारी गर्दै तलब नपाउने कर्मचारी आफ्ना नभएको र तलब खुवाउने दायित्वसमेत आफूहरुको नभएको स्पष्ट पारेको हो । कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन परामर्शदाता कम्पनीलाई पटकपटक निर्देशन दिएको र यो परामर्शदाता कम्पनीहरुको आन्तरिक मामिला भएकाले त्यसमा आफूहरुले हस्तक्षेप गर्न नमिल्ने आयोजनाले जनाएको छ।