हामी जनतासंग जोडिन पाएकोमा सडकमै खुसी छौँ : प्रचण्ड

काठमाडौं, माघ २६ : नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो समूह सडकमै खुसी भएको अभिव्यक्ति दिएका छन् । दाहालले एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा सडकमा रहेर जनतासँग जोडिन पाएकाले सडकमै खुसी भएको अभिव्यक्ति दिएका हुन्।

दाहालले आफ्नो समूह लोकतन्त्र, गणतन्त्र र जनताको पक्षमा रहेको बताए ।  उनले भने, ‘हामी खुसी छौँ । हामी लोकतन्त्रको पक्षमा गयौँ । हामी जनताको पक्षमा गयौँ । हामी जनतासँग जोडियौँ । त्यसकारण हामीलाई गर्व छ । हामी सडकमै खुसी छाैँ।’ 

दाहालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, गणतन्त्र र जनताबाट टाढिएको टिप्पणी गरे । उनले भने, ‘केपी गणतन्त्रबाट टाढा गए । लोकतन्त्रबाट टाढा गए । जनताबाट टाढा गए ।  संविधानलाई घात गर्ने कुत्सित मनतिर गए ।’ 

दाहालले नेकपाभित्रको लडाइँ कुर्सीका लागि नभएको प्रस्ट पारे । विचार, सिद्धान्त र प्रणालीको विषयमा विवाद भएको उनले बताए।

उनले भने, ‘केपी शर्मा ओलीसँग परेको भनेकै विचारको लडाइँ हो । प्रधानमन्त्रीको निम्ति झगडा हो कि ? कुर्सीको निम्ति झगडा हो कि ? यो प्रचार केपी र केपी गुटका मानिसले गरेका हुन् । हामी पदको निम्ति होइन, विचार, सिद्धान्त, सिस्टम, प्रणालीको निम्ति हाम्रो लडाइँ हो ।’दाहाल आफूहरु ओलीले चालेको प्रतिगमनविरुद्धको लडाइँमा लागिरहेको बताए।