प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीको कि हिन्दू महासंघको अध्यक्ष : प्रचण्ड

काठमाडौं, माघ २७ : नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई हिन्दू महासंघको अध्यक्षजस्तो देखिएको बताएका छन्।

आज अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकारसँग अन्तरक्रिया गर्दै प्र्रचण्डले ओलीको व्यवहार कम्युनिस्ट पार्टीको अध्यक्ष नभएर हिन्दू महासंघको अध्यक्षको जस्तो देखिएको बताएका छन्। विगतदेखि नै हिन्दू महासंघको अध्यक्षका जस्ता क्रियाकलाप देखिएको बताउँदै प्रचण्डले भने, ‘उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ।’

प्रधानमन्त्री ओलीले चितवन गएर राम मन्दिर र अयोध्याको विषय उठाएको प्रचण्डले स्मरण गरे। ‘मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ। राम मन्दिर र अयोध्या’bout प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ। यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि। नेपाली जनताले प्रश्न उठाएका छन्,’ प्रचण्डले प्रश्न गर्दै भने, ‘केपीजी भनेको के हो? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो की हिन्दू महासंघको अध्यक्ष हो?’

नेपालमा रामको जन्म भएको प्रमाणित भए सबैभन्दा खुशी आफू हुने उनको भनाइ थियो। धार्मिक स्वतन्त्रणको पक्षमा रहेको र कुनै पनि धर्मप्रति नकारात्मक नरहेको प्रचण्डले बताए। उनले भने, ‘हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका छौँ। धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता छैन। राज्य पो धार्मिक निरपेक्ष हुनुपर्छ भनेको हो।’

त्यस्तै, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतप्रति विश्वास रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीका मान्छेहरुले सेटिङ छ भनेर भ्रम फिजाउन खोजेपनि आफूलाई त्यसमा विश्वास नभएको उनले बताए। प्रचण्डले भने, ‘सर्वोच्च अदालत र आयोग स्वतन्त्र ढंगले काम गर्न सक्छन्। हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति विश्वास छ।’

असंवैधानिक ढंगबाट घोषणा गरिएको निर्वाचन पनि मान्य नहुने उनले बताए। अब जे गर्दा पनि वैशाखमा निर्वाचन हुन नसक्ने पुष्टी भएकाे प्रचण्डकाे भनाइ थियाे।