माधवनारायण व्रतालुको परदेश यात्रा



साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) श्री स्वस्थानी व्रत तथा माधव नारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् ।

पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ आएका हुन र बिहिवार बिहानै पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन्। माघ कृष्ण औंसी का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ ।

स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिरमा माधव नारायणको पूजा गरिएको थियो ।

साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधव नारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए। एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा,चांँगुनारायण, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् तथा नदी तलाउमा पनि पूजापाठ तथा स्नान गर्छन्।

यसपटक कोरोना महामारीका कारण ब्रतालुको संख्या घटेको छ। विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण महिला ३५ र पुरुष १४ गरी ४९ मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रतमा सहभागी भएका छन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
शब्द / तस्विर : सुनिल शर्मा