‘जनमत लिन खोज्नु कसरी प्रतिगमन हुन्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमाथि लगाइएको जनादेशको अपहेलना, प्रतिगमनलगायतको आरोपको खण्डन गरेका छन् ।  सरकारको तीन वर्षे उपलब्धि’bout जानकारी गराउँदै ओलीले नेकपा–दाहाल समूहलगायत अन्य पार्टी लगाएको आरोपको खण्डन गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा विघटनको सिफारिसलाई संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको सुनेको पनि छु । उदेक लाग्छ– साथीहरु केलाई प्रतिगमन भनिरहनुभएको छ ?’

ओलीले संविधानले कोरेको सीमाभन्दा पर नहटेको दाबी गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र त्यसले अंगीकार गरेको सामाजिक–सांस्कृतिक मूल्यको विरुद्धमा नगएको उनको तर्क छ । उनले भने, ‘के हामी जनतासँग मत माग्ने र उनीहरुले चुनेका प्रतिनिधिबाट शासन सञ्चालन गर्ने बाटोभन्दा अलग बाटोमा हिँड्दै छौँ ? छैनौँ । हामी कोही उल्टोतिर फर्केका छैनौँ भने प्रतिगमन भयो कसरी ?’

उनले निर्वाचनमा पराजित व्यक्ति बिनाप्रतिस्पर्धा पदमा आसीन हुन खोज्नु अलोकतान्त्रिक भएको तर्क गरे । उनले भने, ‘आन्तरिक निर्वाचनमा पराजितले बिनाप्रतिस्पर्धा पार्टीको रोजेको पदमा आसीन हुन पाऊँ भन्नु अलोकतान्त्रिक हुन्छ । अनुचित प्राप्तिका लागि विभिन्न हर्कत गर्दै, संविधानले निर्देश गरेकोभन्दा भिन्न तरिका अवलम्बन गरी मुलुकलाई फरक ठाँउतिर लैजान खोज्नु पो प्रतिगमन हुन्छ । लोकतन्त्रमा जनताको अभिमत लिन खोज्नु कसरी प्रतिगमन हुन्छ ?’

ओलीले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान हुनबाट बचाउन निर्वाचनमा जानुपरेको बताए । उनले आफू नेतृत्वको नेकपालाई जनमत प्राप्त भए राजनीतिक अस्थिरता रोकेर देशमा समृद्धि ल्याउने घोषणासमेत गरे ।